हाम्रो बारेमा
हाम्रो बारेमा
आधुनिक प्रविधिको उपयोग गरी वैदिक प्रज्ञालाई प्रज्ज्वलित गर्ने उद्देश्यले डा. स्वामी केशवानन्द गिरिद्वारा संस्थापित वैदिक अनुसन्धान गुठीले पौरस्त्य वाङ्मयको संरक्षण, संवर्धन र भावी पुस्तामा हस्तान्तरण गर्नका लागि विभिन्न प्रकल्पहरू सञ्चालन गरेको छ । पुस्तक प्रकाशन, संस्कार शिक्षा कक्षा सञ्चालन, वैदिक वाङ्मयलाई प्रविधीकरण, शब्दकोश निर्माण जस्ता प्राज्ञिक कार्यहरू योजनाबद्ध रूपमा सञ्चालित छन् । वेदको चक्षुःस्थानीय अङ्गको रूपमा प्रतिष्ठित ज्योतिष विज्ञान सनातन धर्मको मेरुदण्ड हो । नित्य, नैमित्तिक तथा काम्य कर्म सम्पादनको आधार पनि हो । यसै तथ्यलाई हृदयङ्गम गरी सूर्यसिद्धान्तजस्ता प्राच्य कालगणना पद्धति र दृक्गणनामा आधारित वैदिक पञ्चाङ्ग नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत गरी पुस्ताकाकारमा प्रकाशन गरिएको छ । ऋषिमहर्षि प्रतिपादित पौरस्त्य कालगणना पद्धतिलाई आजको पुस्तामा सञ्चार गरी पाश्चात्य खगोल विज्ञानको खोज अनुसन्धानसँग सामञ्जस्य गर्नु आजको आवश्यकता हो । वैदिक युगमा नै गणित शिक्षाको विकास भई खगोलीय पिण्डहरूको अध्ययन गर्ने परम्परा सुदृढ भई देव, ऋषि र मानव हुँदै आजसम्म आइपुगेको देख्न सकिन्छ । भौतिक विज्ञानको चरम उन्नति अनुभव गरिरहेको समाज क्रमशः संस्कृत, संस्कृति र सभ्यतासम्बन्धी जिज्ञासा गरिरहेको छ । यसै सन्दर्भमा प्रविधिमैत्री बनिसकेको विश्वलाई प्रविधिमैत्री संस्कृत, संस्कृति र सभ्यतासम्बन्धी सामग्री उपलब्ध गराउने हाम्रो प्रयास हो । हामी ज्योतिषीय ज्ञानलाई यथासम्भव सरल र सुलभ बनाई सम्पूर्ण सनातनीहरूमा यससम्बन्धी जिज्ञासा जगाई विश्वभरि यसको सटीकता सिद्ध गर्न चाहन्छौँ । सनातन धर्मका संस्कारहरूमा अटूट श्रद्धा हुँदाहुँदै पनि देश, काल र उपायको सामञ्जस्यको अभावमा ती अनुष्ठानहरू सम्पादन गर्न असमर्थ स्वदेश तथा विदेशमा रहनुभएका सनातनीहरूको सहजताका लागि वैदिक पञ्चाङ्ग प्रारम्भ गरिएको हो ।
वैदिक पञ्चाङ्ग वेब भर्सनमा गृहपृष्ठको पञ्चाङ्ग विवरणअन्तर्गत संवत्सर, अयन, ऋतु, सूर्योदय, सूर्यास्त, तिथि, बार, नक्षत्र, योग, करण, सूर्यराशि, चन्द्रराशि, बृहस्पतिराशि, सर्वार्थसिद्धियोग, सिद्धियोग, भद्रा, चन्द्रोदय, चन्द्रास्त, आनन्दादियोग समावेश गरिएको छ । यसै खण्डमा विक्रमसंवत्, नेपालसंवत् र ईसवीयसंवत् अनुसारको दैनिक तिथिमितिको विवरण प्रस्तुत गरिएको छ र प्रत्येक दिनको पर्वविशेषलाई विशिष्टीकरण गरिएको छ भने आगामी पर्वहरूलाई समेत प्रस्तुत गरिएको छ । पात्राको पूर्णविवरण अन्तर्गत पञ्चाङ्गविवरण, दैनिक दिवा तथा रात्री वारवेला, दिवामुहूर्त तथा रात्रीमुहूर्त, ग्रहस्थिति विवरण, प्रातःकालादि विवरण, प्रहरविवरण, सन्धिकालनिरूपण गरिएको छ । वैदिक पञ्चाङ्ग अन्तर्गत परम्परागत रूपमा प्रचलित स्वरूपको वैदिक पञ्चाङ्ग प्रस्तुत गरिएको छ । जन्मकुण्डली अन्तर्गत प्रारम्भिक चरणमा लग्नकुण्डली र नवमांश कुण्डली निर्माण गरिने प्रविधि मिलाइएको छ । कुण्डलीमिलान, लग्नपत्रिका, मुहूर्त, राशिफल, सङ्क्रान्ति, ग्रहस्थिति, मितिपरिवर्तन, पर्व आदि विवरण समाविष्ट छन् ।
विशेष धन्यवाद
प्रा. श्रीकृष्ण अधिकारी (सिद्धान्तज्योतिषाचार्य), प्रा.भवानीप्रसाद खतिवडा (वेदान्ताचार्य), प्रा.डा. नुरापति पोखरेल (साहित्याचार्य), उपप्रा. श्याम खनाल (सिद्धान्तज्योतिषाचार्य), उपप्रा. शालिग्राम ढकाल (फलितज्योतिषाचार्य), डा. उत्तम उपाध्याय न्यौपाने (फलितज्योतिषाचार्य), अर्जुन खतिवडा (नव्यव्याकरणाचार्य), गणेश लम्साल (सिद्धान्तज्योतिषाचार्य), ई. लोकराज घिमिरे(कम्प्युटर इन्जिनियर), तुलसीराम सुवेदी, विवेक पाण्डे (धर्मशास्त्राचार्य), सन्तोष मैनाली ( सफ्टवेर इन्जिनियर), सुवास घिमिरे ( सफ्टवेर इन्जिनियर), अनुमोदन न्यौपाने, प्रकेश सिन्धुलिया, आयुष रिमाल, प्रद्युम्न प्याकुरेल, अर्चना भट्टराई, खुसी दाहाल ।